मुग्लिन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।”
महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफँै टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा बजारीकरणमा सहयोग पुर्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेका छौँ ।” गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा सुन्तला धेरै खाने प्रतियोगितासमेत आयोजन गरिनेछ । बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको कक्ष महोत्सवमा राखिने अध्यक्ष गुरुले बताउनुभयो । महोत्सवको अवसरमा सुन्तला कृषकलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्याधिसम्बन्धी तालिम दिने काम पनि महोत्सव गरिने छ । स्थानियले बनाएका परिकार पाहुनालाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरने छ ।
“इच्छाकामनामा उत्पादन भएका सुन्तला देशका विभिन्न बजारमा बिक्री गर्न सहज हुने विश्वासका साथ महोत्सव आयोजना गरेका हौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसबाट यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत मद्दत पुग्ने विश्वास छ ।”
गाउँपालिका कृषि विकास शाखाका अनुसार यहाँका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै सुन्तला बिक्री गरी रु १० करोड आम्दानी लिने अनुमान गरिएको छ । अहिले किसानको बारीबाट सुन्तला प्रतिकिलो रु ७५ देखि रु ९० सम्ममा सुन्तला बिक्री हुने गरेको शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिनुभयो । यस वर्ष यहाँ ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।
गत वर्ष कृषि ज्ञान केन्द्रले सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा वितरण गरेको थियो । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो ।

By jhorle

Share
झोर्ले खबर