तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले किसानलाई प्रोत्साहन गर्न ‘एक वडा, एक उत्कृष्ट कृषक’ सम्मान कार्यक्रम ल्याउने नीति लिएको छ । कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने योजनाअनुरुप कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण उत्पादन तथा उत्पादनकत्वमा वृद्वि गरी खाद्य सुरक्षाको प्रत्याभूति र कृषि पेसालाई आयआर्जनको रूपमा विकास गर्न किसानलाई पुरस्कृत गर्न लागेको हो ।
खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले पक्की बाँध कुलो निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो । हाल कायम रहेका कृषि पकेट क्षेत्रलाई विस्तार एवं स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, अग्र्यानिक तरकारी बीउ उत्पादन र दूध तथा मासु थप विषयमा पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ । कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउनका लागि माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी तनहुँ प्राविधिक शिक्षालयसँगको समन्वय तथा सहकार्यमा विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीवीको पहिचान गरी निःशुल्करूपमा औषधिको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । “दूध उत्पादन तथा दुधजन्य पदार्थको उत्पादकत्व वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छौँ”, नगरप्रमुख सुवेदीले भन्नुभयो ।
नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाखा हाल लोप हुने जोखिममा रहेको हुँदा त्यसको संरक्षण गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको छ । कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्नका लागि कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी लाभ लक्षित वर्गसम्म पुर्याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
बस्ती जोगाउन सेतीमा तटबन्ध
तनहुँको भीमाद बजारका बस्ती जोगाउन सेती नदी किनारमा ग्याबिन तटबन्ध निर्माण गरिएको छ । विगत वर्षदेखि नदीमा आएको पानीको बहावले कटान गरी बस्ती क्षेत्रमा क्षति बनाएपछि संरक्षणका लागि तटबन्ध निर्माण गरेको हो । नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर बढी उच्च जोखिममा रहेको भीमाद नगरपालिकाले जनाएको छ । दुई सय मिटर बढी दूरीमा तटबन्ध निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको छ । पटक–पटक गरी उक्त स्थानमा रु दुई करोड बढी लगानी भइसकेको नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।
“दीर्घकालीन व्यवस्थापनका लागि लागत तयार गरिएको छ, रु १७ करोडको लागतमा सेती नदी किनारमा रिटेनिङ वाल निर्माणका लागि डिपिआर बनाएर राखिएको छ”, उहाँले भन्नुभयो ।
करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो । उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिड्ने पैदलस्थलको रूपमा निर्माण गर्ने योजना बनाइएको छ ।
आठ वडाका आफ्नै भवन
भीमाद नगरपालिका मातहत रहेका नौ वडामध्ये आठ वडाको आफ्नै भवन रहेको छ । नौवटा वडा कार्यालय रहेको यस नगरपालिकामा वडा नं ५ बाहेक अन्य वडा कार्यालयको आफ्नै भवन निर्माण भइसकेको छ ।
भवन निर्माण भएका सबै वडा कार्यालयको लागि रु एक करोड २८ लाखका दरले बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिनुभयो । वडा कार्यालयका आफ्नै भवन निर्माण भएपछि भाडामुक्त वडा कार्यालय बनाउन सफल भएको नगरपालिका कार्यालयले जनाएको छ ।

By jhorle

Share
झोर्ले खबर