गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा करिब रु ७० लाखको लागतमा सोलार जडित लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित भ्याकुरे गाउँमा भ्याकुरे सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्थानीयवासी विजय पुडासैनीले जानकारी दिनुभयो ।
लामो समयदेखि खानेपानीको अभाव भोगिरहेका भ्याकुरे गाउँमा गाउँपालिका, प्रदेश संसद् विकास कोष, स्थानीयवासी र गैरसरकारी संस्थाको संयुक्त लगानीमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको पुडासैनीले बताउनुभयो । आयोजनाबाट त्यस क्षेत्रका ६० घरपरिवारका गरी करिब चार सय लाभान्वित भएको उहाँको भनाइ छ । ‘‘एक गाग्री खानेपानीका लागि घण्टौँ समय खर्च गर्नुपर्ने बाध्यता यहाँका बासिन्दाको थियो”, उहाँले भन्नुभयो, ‘‘आयोजना निर्माण सम्पन्न भएसँगै अहिले भ्याकुरे बस्तीका घरघरमा जडान गरिएकोे धारामा खानेपानी झरेको छ ।’’
खानेपानी आयोजना निर्माणका लागि सहिद लखन गाउँपालिकाले रु १५ लाख, प्रदेश सांसद विकास कोषबाट रु २० लाख, गोरेटो गोरखा नामक गैरसरकारी संस्थाबाट २० लाख तथा स्थानीयवासीले रु १० लाख लगानी रहेको भ्याकुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर थापाले जानकारी दिनुभयो ।
गाउँदेखि मुनि रहेको खोलाको पानी लिफ्टिङ गरेर बस्तीमा ल्याइएको अध्यक्ष थापाका भनाइ छ । सोलारबाट मोटर चल्ने भएपछि विद्युत्मा हुने खर्च कम लाग्ने भएकाले पनि सोलार जडान गरेर आयोजना निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
भ्याकुरे गाउँमा अधिकांश जनजाति र दलित समुदायका मानिस बसोबास गर्दछन् । आयोजना सम्पन्न भएसँगै घण्टाँै लगाएर पानी बोक्न जानुपर्ने बाध्यता हटेको छ । खानेपानी प्रयोगबाट बढी भएको पानीलाई तरकारी खेतीका लागि उपयोग गर्ने स्थानीबासीहरूको भनाइ छ ।
