काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ गर्दा अयोग्य देखिएका, जरिवाना नतिरेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।
यही कात्तिक ८ गतेको आयोगको निर्णय र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ ६४५७ जना उम्मेदवारहरू रहेका मध्ये निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाइएकोे छ ।
प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गते भित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।
यस्तै बन्दसूचीमा समावेश रहेका मध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाइको छ ।
निर्वाचन आयोगले खारेज गरेको समानुपातिकतर्फका उम्मेदवारमध्ये सबैभन्दा बढी राष्ट्रिय जनमोर्चाका २३ जना परेका छन् । दोस्रोमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका २२ जनाको उम्मेदवारी खारेज भएर ८८ जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जनाको उम्मेदवारी खारेज भएको छ । जसमा १६ जनाको तोकिएको जरिबाना नबुझाएका कारण, ३ जनाको उमेर नपुगेको र २ जनाको दोहोरो परेको कारण छन् । एकजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण खारेज भएको छ ।
नेकपा (एमाले) को बन्दसूची भने सबै कायम भएको छ । समानुपातिकतर्फको ११० सीटका लागि हुने निर्वाचनमा एमालेले ११० जनाको नाम बन्दसूचीमा समावेश गरेको थियो । नेपाली कांग्रेसबाट भने एकजनाको नाम बन्दसूचीबाट हटेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाकार रहेका गोविन्द परियारको नाम दलितबाट बन्दसूचीमा पेस भए पनि उनीविरुद्ध निर्वाचन आयोगमा लाभको पदमा रहेको भन्दै उजुरी गरेपछि आयोगले उम्मेदवारी खारेज गरेको हो ।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट ३ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा दुईजनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र १ जनाको दोहोरो उम्मेदवारी भएको भन्दै निर्वाचन आयोगले खारेज गरेको हो । यो सँगै माओवादीबाट १०७ जनाको मात्रै उम्मेदवारी कायम हुने भएको छ ।
नेकपा (एकिकृत समाजवादी) बाट ६ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ५ जनाले आयोगबाट लागेको जरिवाना नुबझाएका कारण र एक जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण आयोगले उम्मेदवारी खारेज गरेको हो । योसँगै नेकपा (एकिकृत समाजवादी) बाट १०४ जनाको उम्मेदवारी कायम भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ३ जनाको आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको दोहोरो उम्मेदवारी परेका कारण निर्वाचन आयोगले खारेज गरेको हो । यस्तै बन्दसूचीमा ११० जनाकै नामावली पेस गरेको नवगठित रवि लामिछाने नेतृत्वको राष्ट्रिय पार्टीको ३ जनाको उम्मेदवारी खारेज भएको छ । जरिबाना नतिरेकाले उनीहरू ३ जनाको नाम आयोगले हटाएको हो ।