रामेछाप । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिदै गर्दा सत्तारुढ दलहरू र विपक्षी दलहरू स्थानीय निर्वाचनमा होमिएका छन् ।
दलहरू आ–आफ्नो चुनावी घोषणापत्र बनाउन र उम्मेदवार छान्ने छलफलमा जुटिरहेका छन् ।
यतिबेला रामेछापको रामेछाप नगरपालिकाको नगरप्रमुख को उम्मेदवार बन्ला भन्ने चासो बढेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापा मगरले नगरप्रमुखमा विजयी भएका थिए । उनले ४४०१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का उम्मेदवार रोशन पाख्रीनले ४३०० मत ल्याएका थिए भने नेकपा(माओवादी केन्द्र)का उम्मेदवार शिशिर खड्गीले ३००२ मत ल्याएका थिए ।
रामेछापको ८ स्थानीय तह मध्ये रामेछाप नगरपालिका मात्र जित्न सफल यस नगरपालिकामा फेरि नेपाली कांग्रेसले नै सत्ता बागडोर सम्हाल्ने पक्कापक्की नै छ । सत्तारुढ दलबीच गठबन्धन भए पनि रामेछाप नगरपालिकामा कांग्रेसले नै पाउने पक्का छ भने नेकपा(एमाले) विभाजनका कारण रामेछाप नगरपालिकामा एक्लै चुनाव लड्दा पनि नेपाली कांग्रेसलाई जित्न सहज छ ।
नगरप्रमुखमा रामेछाप नगरपालिकामा नेपाली कांग्रेसबाट ९ जनाको चर्चा छ । १. नरबहादुर थापा मगर( हालका नगरप्रमुख), २. सिर्जना खड्का(हालका उपप्रमुख) ३. पूर्ण बहादुर मगर, ४. लालबहादुर तामाङ, , ५. लबश्री न्यौपाने, ६.रत्न बहादुर कार्की, ७. लेखबहादुर कार्की, ८.कमल विक्रम कार्की , ९.कुमारी हायु ।