२०७८ साउन २४ गते , काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पटक पटक विवादमा पर्दै आएका गायक तथा मोडल दुर्गेश थापालाई साधारण सदस्यताबाट निष्कासन गरेको छ । यसअघि प्रतिष्ठानले दुर्गेशलाई बहिष्कार गरेको समाचार आइरहेका बेला प्रतिष्ठानले दुर्गेशलाई साउन १७ को निर्णयानुसार साधारण सदस्यबाटै निष्कासनको निर्णय लिएको हो ।
‘कलाकार दुर्गेश थापालाई गीत प्रकाशन पूर्व नै ख्यास्स पुतली संशोधन गरिदिन लिखित अनुरोध गरिएकोमा निजले बिल्कुलै बेवास्ता गरी प्रतिष्ठानसँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएको हुनाले निजको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरिएको छ,’ प्रतिष्ठान अध्यक्ष रमेश बिजीसहित तीन अधिकारीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
दुर्गेशले सातअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए। म्युजिक भिडियोसहित गीत सार्वजनिक भएपछि विरोध भइरहेको थियो । तीजको मर्मविपरीत अश्लील र भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै आलोचना भएको थियो । कोरोना महामारीका कारण तीजका गीतमा नाच्न नपाउने भन्दै दुर्गेशले ‘यसपालीको तीजमा ख्यास्स पुतली’गीत ल्याएका थिए ।
‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत बजारमा आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘बहिष्कार’ गरेको खबर आएको थियो। तर प्रतिष्ठानको तर्फबाट निकालिएको विज्ञप्तिमा बहिष्कार नभइ कारबाही गरेको उल्लेख छ । प्रतिष्ठानले आफूलाई बहिष्कार गरेको भन्दै दुर्गेशले ‘आफ्नो प्रगति देख्न नचाहेको’ आरोप लगाएका थिए । उनले गीतको शब्द नफेर्ने पनि अडान लिएका थिए ।
तर यसबीचमा प्रतिष्ठानले आइतवार निकालेको विज्ञप्तिमा दुर्गेशलाई बहिष्कार नगरी साधारण सदस्यता खारेज गरिएको जनाएको छ। दुर्गेशलाई संस्थाको साधारण सदस्य समेत नरहने गरी हटाइएको जनाइएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानअन्तर्गतको विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल र प्रतिष्ठानका महासचिव सुवास केसीले निकालेको विज्ञप्तिमा विधानतः परिच्छेद (७) धारा (२६)को उपधारा १ बमोजिम दुर्गेशको सदस्यता खारेज गरिएको जनाइएको छ ।
प्रतिष्ठानले दुर्गेशको गीत आउनुअघि नै दुर्गेशलाई ‘ख्यास्स पुतली’शब्द फेर्न भनेको थियो । तर उनले प्रतिष्ठानको आग्रह बेवास्ता गर्दै गीत सार्वजनिक गरेका थिए । त्यसपछि प्रतिष्ठानले साउन १७ गते बहिष्कार गर्ने निर्णय लिएको बताइएको थियो । तर आइतवार निकालिएको विज्ञप्तिमा उनलाई बहिष्कार नभइ साधारण सदस्यबाट हटाइएको उल्लेख छ ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर