काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा भने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार आङकाजी शेर्पा र उपमेयर मोहन कुमारी कार्कीले जीत हासिल गर्ने चर्चा छ । मेयरका उम्मेदवार शेर्पाले आफूसँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र मेयरमा विजयी भई नगरपालिकाको विकासको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् । विकास प्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर नगरपालिकालाई एउटा नमुना नगरको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न आम मतदातालाई अनुरोध गरिरहेका छन् । शेर्पाको चुनावी प्रचारप्रसार अभियानमा एमालेका केन्द्रिय तथा जिल्लास्तरका सबै नेताहरु एक ढिक्का भएर लागिपरेका छन् । एमालेबाट यसअघि मेयरका आकांक्षीहरुले समेत शेर्पालाई अनवरत रुपमा साथ दिएका कारण पनि एमाले एक ढिक्का भएर लाग्दा परिणाम एमालेकै पोल्टामा पर्ने सुनिश्चित रहेको जनस्तरमा चर्चा छ ।
व्यवसायिक जीवनमा एकपछि अर्को सफलता हासिल गर्दै आएको शेर्पाको अहिले पनि ठूला ठूला परियोजनाहरु सन्चालित छन् । ती परियोजनाहरु मार्फत विकासको मार्गचित्र दर्शाई सकेका शेर्पाले झनै नगरपालिकाको नेतृत्व गर्न पाए नगरपालिकाको समग्र विकासको रुप फेरिन्छ भन्ने विश्वास जनमासमा पर्दै गएको छ । जसका कारण शेर्पाको लोकप्रियता बढ्दै गएको छ । विभिन्न वडामा आयोजना गरिएको चुनावी सभामा आङकाजी शेर्पा प्रतिको जनलहर बढ्दो छ ।
२०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले २ हजार ७ सय ५१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार आङ इगेले (झलक) शेर्पाले २ हजार ६ सय १ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार शेर्पाले भन्दा कांग्रेसका उम्मेदवारले १ सय ५० मत मात्र बढी ल्याएका थिए । तत्कालीन स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकामा १० वटा मात्र वडा थिए । जस अन्तर्गत वडा नं. १, वडा नं. २, वडा नंं ४ र वडा नंं ९ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको थियो भने बाँकी ६ वटा वडाहरु (वडा नं. ३, ५, ६, ७, ८ र १०) मा नेकपा एमालेले जितेको थियो ।
