काठमाडौं । सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका वडा सचिवसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पञ्चकन्या गाउँपालिका–२ की वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गत ०७७ चैत २४ गते बैंकबाट ल्याएको सामाजिक सुरक्षा भत्ता र वडामा उठेको राजश्व रकम गरी ५३ लाख एक हजार ८५६ रुपैयाँ शंकास्पद तरिकाले हराएको थियो । वडासचिव राउतलगायतले रकम हराएको बारेमा प्रहरीमा उजुरी नगरेको र कार्यालयबाट हराएको बताए पनि कुनै तोडफोड नभएको, पैसा राखिएको दराजको चाबी सरिता र रामकुमारसँग रहेको र ढोकाको चाबी निलप्रसादसँग रहेको पुष्टि भएको अख्तियारले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा पैसा हराएको भनिए पनि सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको अख्तियारको भनाइ छ । उनीहरूले बदनियतपूर्णा तवरले सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ठहर गर्दै तीनै जनाविरुद्ध हानी नोक्सानी गरेको रकम ५३ लाख एक हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको सहायक प्रवक्ता भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति ः– मिति २०७८।१०।१४ गते ।
––––––––––––––––––
जिल्ला नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयबाट मिति २०७७।१२।२४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैङ्कबाट लिएर आएको र कार्यालयमा निज सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको, दराजको सेफको चाँबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाँबी निल प्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाँबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा निज सरिता राउत, रामकुमार गिरी र निल प्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेकोले निजहरुको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर