काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तत्कालिन नासु भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनी हाल विध ल्याबका संचालकसमेत हुन् ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भीमकान्त भण्डारी मिति २०७३ असोज २१ मा नासु पदबाट सार्वजनिक सेवा प्रवेश गरेका उनले २०७७ साउन १ मा राजीनामा दिएर सरकारी सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेश गरेको ४ वर्षमै उनले जोडेको सम्पत्ति तथा जीवनयापन अस्वभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अस्वभाविक रुपमा राजीनामा दिएपछि उनी विरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा उजुरी परेको थियो । त्यसपछिको अनुसन्धानका अख्तियारले भण्डारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्त सम्मको सम्पत्ति माथि अनुसन्धान गरेको थियो ।
‘भण्डारीको २०७८ पुस मसान्तसम्मको सम्पत्तिको आय व्यय गणना गर्दा सेवामा रहँदा पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्व जाँच अवधिको बचत गरी २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ देखिन्छ र निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ देखियो,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जनमा लगानी रकम घटाउँदा भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारले उल्लेख गरेको छ । स्रोत नखुलेको सोही रकमलाई बिगो कायम गरी जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मातदावी लिएको हो ।
अख्तियारले भण्डारीका नाममा एकल स्वामित्वमा रहेका कम्पनीको बैंक मौज्दात १७ लाख ६२ हजार १ सय ९२ रुपैयाँ समेतबाट कुल बिगोमा उल्लेख गरिएको सम्पत्ति पनि जफत गर्न भनेको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीउपर बिगो रु. ६,२४,०४,००६।४४ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर ।
प्रेस विज्ञप्तिः– मिति २०७९।०३।०३ गते ।
––––––––––––––––––––––––––––––––––
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भिमकान्त भण्डारी मिति २०७३÷०६÷२१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७÷०४÷०१ मा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२।५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु. २६,६१,६३६।०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२।५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भिमकान्त भण्डारीलाई बिगो रु. ६,२४,०४,००६।४४ (छ करोड चौबीस लाख चार हजार छ रूपैयाँ चौवालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐ. ऐनको दफा ४७ बमोजिम बिगो रु.६,२४,०४,००६।४४ निजको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफत गर्न मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर