
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सामाजिक संजालमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् । ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ ।
साथै, काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् । यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्ने चेतावनी दिएको थियो ।
यस्तो छ सूचना
दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ । उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ ।
उक्त कानूनी व्यवस्था तथा सम्मानीत उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुदैन ।
तसर्थ, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलिय आबद्धतासंग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ । साथै, राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।
कुनै आबद्दता देख्नु भएमा मलाइ मा इमेल गर्न सक्नु हुनेछ ।
