काठमाडौँ, ४ माघ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिड विरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरू बीच बैठक बसेको छ ।
बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति बनेको छ ।
सीसीएमसीले यही माघ ७गते बाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको छ ।
गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्रप्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित बैठकले विद्यालय माघ १६ गतेदेखि २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ ।
‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ सहसचिव कोइरालाले भन्नुभयो, ‘हामीले निर्णय गरेका छौँ सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’
त्यस्तै विश्व विद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालनगर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्थागर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्नेछन् ।
त्यस्तै बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्थागर्न भनेको छ । अनलाइन टिकट काट्नेले पनिकोभिड विरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन भनिने भएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगनगर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ । ‘राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउने कार्य अत्यावश्यक परेकालाई बाहेक तत्कालका लागि स्थगतगर्न सम्बन्धित निकायलाई भन्ने निर्णय भएको छ,’ सहसचिव कोइरालाले भन्नुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भन्ने पनि बैठकले निर्णय गरेको छ ।
विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।
बैठकमा गृहमन्त्री खाणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेका बताउनु भयो । कोभिडबाट नागरिकलाई बचाउने दायित्व सरकारको भएको भन्दै त्यसबारे संवेदनशील भएर कामगर्न गृहमन्त्री खाणले निर्देशन दिनुभयो ।
