कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण भेगका नागरिकको निःशुल्क आँखा उपचार शिविर गरेको छ । बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार ५१ जनाले आँखा जाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनुभयो ।
एक सय ४३ को मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको र दुई सय एक जनालाई चस्मा वितरण गरिएको अधिकारीले बताउनुभयो । गाउँपालिकाको विकट क्षेत्र जवावैराठ, नेवलीगञ्ज, नौडिहवा, मद्यनगर, गेडुवाजोतलगायत गाउँका नागरिकहरूले सेवा लिएका छन् ।
ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउनका लागि शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विपन्न समुदायलाई जाँच गर्न आर्थिक समस्या पर्ने भएकाले गाउँघरमा चिकित्सक बोलाएर शिविर सञ्चालन गरिएको हो ।
आँखा उपचार शिविर दुई दिनसम्म रहे पनि बिरामी बढेकाले एक दिन थप गरिएको बताइएको छ । शिविर विजयनगर–६ मा रहेको हरिबोध आधारभूत विद्यालयमा सञ्चालन गरिएको हो । छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक टोलीले जाँच गरेको हो । सामान्य प्रकारका बिरामीको शिविरबाट उपचार हुने र शल्यक्रिया गर्न पर्ने बिरामीको पनि गाउँपालिकाको सहयोगमा शल्यक्रिया गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्लाका सबै पालिकामा आँखाका बिरामी फेला परेकाले पालिकासँग सहकार्य गरेर शिविरको आयोजना गरिने विश्वकर्माले बताउनुभयो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर