काठमाडौँ । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर र जटिल रहेको वर्तमान परिस्थितिमा हाम्रा सामु थप चुनौती देखापरेको बताउनुभएको छ ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आज सकल दर्जालाई सम्बोधन गर्दै उहाँले जटिल परिस्थितिमा संवैधानिक दायित्व सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवद्र्धन गर्नका लागि सदैव तयार रहनु सेनाको पहिलो कर्तव्य भएको स्पष्ट गर्नुभएको छ ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “राष्ट्रियहितलाई दृष्टिगत गरी सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको छ । सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने छ ।’’
नीति/रणनीति र मूलग्रन्थलाई आधार मानेर रणनीति, अप्रेशनल र टयाक्टिकल तहबीच सामान्यतया कायम हुने गरी तीन जोड एक कार्यान्वयन गरिदै लैजाने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सेना लामो कालखण्डदेखि नै प्रणाली र पद्धतिमा आधारित सङ्गठन थियो, आज पनि छ, भोली पनि रहनेछ ।” सङ्गठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप काम गरिनेमा जोड दिँदै प्रधानसेनापति शर्माले यसै वर्षबाट सबै अङ्ग सहभागी हुने गरी युनिट तहसम्म सामूहिक तालिमलाई विशेष महत्व दिइने जानकारी दिनुभयो ।
