
रामेछाप । रामेछापमा बाम–लोकतान्त्रिक गठबन्धनको प्यालन विजयी भएको छ । रामेछापमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) र प्रदेशसभाको दुवै सिटमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । कान्छाराम भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा(एमाले)का कैलाश ढुङगेललाई १६ हजार ३ सय ६९ मतले पराजित गरेका छन् । कान्छारामले ४७ हजार ९८ मत पाउँदा ढुङगेलले ३० हजार ७ सय २९ मत मात्रै पाएका छन् ।
कान्छाराम तामाङ निर्माण व्यवसायी हुन् । तामाङ रामेछाप जिल्लाका कांग्रेसका जिल्ला सभापति पनि हुन् । २०७४ को निर्वाचनमा पनि तामाङ यसै क्षेत्रबाट निर्वाचन लडेका थिए । तर, उनलाई माओवादीका उम्मेदवार श्यामकुमार श्रेष्ठले पराजित गरेका थिए । श्रेष्ठले ४२,११७ मत प्राप्त गरेका थिए भने तामाङले ३५,७७१ मत प्राप्त गरेका थिए ।
यसैगरी प्रदेशसभातर्फ दुवै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ बाट तारा नारायण श्रेष्ठ र २ बाट युवराज चौलागाई विजयी भएका हुन् । श्रेष्ठ एमालेका शान्ति प्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्दै क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ एक सय ५७ मत पाएका छन् ।
यस्तै, रामेछापको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चौलागाईले एमालेका मिलन घिसिङलाई पराजित गरेका छन् । चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ हजार २ सय ६ मत मात्रै पाएका छन् । चौलागाईले घिसिङको भन्दा ४ हजार ७ सय ७३ बढी मत ल्याएका हुन् ।