काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।
उनले भने, काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ उनले पूर्ण रुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको समेत उनले बताएका छन् ।
आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु । बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौँ ।’ ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा’का प्रस्तोता लामिछानेले त्यसअघि न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँथे ।