२०७८ साउन २५ गते काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपाललाई पाटीभित्र स्थान नदिने गरी अघि बढेको छ । प्रस्तावित विधान अनुसार वरिष्ठ नेता पद नै खारेज गर्ने गरी निर्णय गराएको छ । ओलीले केन्द्रीय कमिटीको संख्या समेत बढाउने गरी विधान संशोधनको निर्णय गराएको छ । यसबाट पार्टीको महत्वपूर्ण कमिटीहरुमा माधवकुमार नेपाल पक्ष झन् कमजोर अवस्थामा पुग्ने भएको छ । बामदेव गौतमबाहेक माधवकुमार नेपाल पक्षलाई कुनै स्थान नदिएको स्पष्ट भएको छ ।
नेकपा (एमाले)को प्रस्तावित विधान अनुसार महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चुनिनेछन् भने १२ पदाधिकारी केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । प्रस्तावमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव छन् । उनीहरु मध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ ।
प्रदेश, जिल्ला र स्थायी तहका कमिटीहरुमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र सदस्यहरु अधिवेशनबाट चुनिनेछन् भने पदाधिकारी सम्बन्धित कमिटीले मनोनीत गर्नेछ । केन्द्रीय महाधिवेशन पाँच वर्षमा, प्रदेश अधिवेशन चार वर्षमा, जिल्ला र पालिका अधिवेशन तीन वर्षमा र मातहतका कमिटीको अधिवेशन दुई वर्षमा गर्ने प्रस्ताव छ ।
सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।
पदाधिकारी संख्या पनि घटाएर नेतृत्वलाई छरितो बनाउने प्रस्ताव एमालेले गरेको छ । केन्द्रीय कमिटीको आकार २२५ सदस्यीय हुनेछ । केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने प्रस्ताव छ । पोलिटव्यूरो पनि हटाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी अन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन हुने छ । राजनीतिक तथा संगठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालय रहने छ । त्यस्तै प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन हुने छ । विधानमा गर्न लागिएको अर्को महत्वपूर्ण हेरफेर भनेको संघीयताको आत्मसात र समावेशीतामा जोड हो । अब एमालेमा केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहका कार्यकारी कमिटी हुने छन् ।
पार्टीका औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य हुने नयाँ व्यवस्था पनि एमालेले गरेको छ । अब पार्टीको लोगो सूर्य चिन्ह भित्र हसिया हथौडा हुने छ ।
एमालेको विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने तयारी छ । विधान अधिवेशनले अहिले प्रस्तावित विधान पारित गरे एमालेमा नयाँ व्यवस्था लागू हुने छ ।