
काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय सभा हल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएको भन्दै मेयरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेयर गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । अख्तियारले घुस लिएको अवस्थामा गएको माघ ३ गते इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिः– मिति २०७९।११।१७ गते ।
––––––––––––––––––––––––––––––––
जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस÷रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।१०।०३ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरु जितेन्द्र प्रसाद गुप्ता र रामचन्द्र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । प्रवक्ता, भोला दाहाल
