काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, सब–इन्जियिनर रूपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि आर्थिक वर्ष २०७४÷७५ मा बलेफी–तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक रूपमा उपभोक्ता समिति गठन गरेको, झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डअनुसारको निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको आरोप छ । उनीहरूले झुटो कागजात बनाएर ३६ लाख ४९ हजार आठ सय ९९ रुपैयाँ ६३ पैसा लिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।
साथै उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद वा जरिबाना गरी बिगो मागदाबीसहित विशेष अदालत काठमाण्डौमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्ति
जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर ।
प्रेस विज्ञप्तिः– मिति २०७९।०३।०२ गते ।
––––––––––––––––––
जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिकामा बलेफी तेम्बाथान मोटरबाटो आ.व. २०७४/०७५ मा निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरेको, झुट्टा विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरे गराइएको, डोरहाजिर साथै माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको साथै गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका अध्यक्षको मिलोमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न देहाय बमोजिमका आरोपितहरुलाई देहाय बमोजिमको सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
देहायः(क) जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल र असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरेले बलेफी तेम्बाथान सडक विस्तारको डबल कटिङ्गसमेतको कार्य गर्न जुगल गाउँपालिकाबाट विनियोजित रकमबाट उपभोक्ता समितिमार्फत मानिस÷लेबर लगाई कार्य सम्पन्न गर्ने गरी तयार भएको लागत अनुमान बमोजिम उपभोक्ता समितिसँग सम्झौता भएकोमा लागत अनुमान र सम्झौता विपरीत उपभोक्ता समितिबाट उक्त कार्य मानिस÷लेबरद्धारा सम्पन्न नगरी डोजर, जे.सी.बी. मेसिनको प्रयोगबाट सम्पन्न भएकोमा उक्त कार्यलाई मानिस÷लेबरबाट गरेको झुट्टा डोरहाजिर, गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदनसमेतका कागजातहरु तयार गरी गराई उक्त कागजातहरु स्वीकृत गरी गाउँ कार्यपालिकाको कार्यालयबाट रु. ३६,४९,८९९ । ६३ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहायको खण्ड (ग) र (ङ) विपरीतको भ्रष्टाचारजन्य कार्य गरेकोले निजहरु ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल र असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे उपर रु.३६,४९,८९९ । ६३ (छत्तीस लाख उन्पचास हजार आठ सय उनान्सय रुपैया त्रिसट्ठी पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना बिगोसमेत असुलउपर हुन र निजहरुको उक्त कामको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने गराउने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) विपरीतको कार्य भएकोले निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन समेत मागदावी लिइएको छ ।
(ख) जगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका लेखापाल सतेन्द यादवले बलेफी तेम्बाथान सडक विस्तारको डबल कटिङ्गसमेतको कार्य गर्न जुगल गाउँपालिकाबाट विनियोजित रकमबाट उपभोक्ता समितिमार्फत मानिस÷लेबर लगाई कार्य सम्पन्न गर्ने गरी तयार भएको लागत अनुमान बमोजिम उपभोक्ता समितिसँग सम्झौता भएकोमा लागत अनुमान र सम्झौता विपरीत उपभोक्ता समितिबाट मानिस÷लेबरद्वारा सम्पन्न नगरी डोजर, जे.सी.बी. मेसिनको प्रयोगबाट सम्पन्न भएको उक्त कार्यलाई मानिस÷लेबरबाट गरेको भनी तयार भएको झुट्टा डोरहाजिर, गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन समेतका कागजातहरुलाई बेवास्ता गरी उक्त कागजातहरुको आधारमा उपभोक्ता समितिलाई भुक्तानी गरेको, मानिसद्वारा कार्य गर्ने भन्ने इष्टिमेट÷ सम्झौता÷ कार्यादेशको ठाडै बर्खिलाप गरी उक्त कार्यमा मेशिन प्रयोगबापत भनी इन्धन खर्चमा जानी–जानी बदनियतपूर्वक रु.३६,४९,८९९। ६३ रकम गाउँपालिकाबाट बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेकोले निज सतेन्द यादव उपर रु.३६,४९,८९९ । ६३ (छत्तीस लाख उन्पचास हजार आठ सय उनान्सय रुपैया त्रिसट्ठी पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी लिइएको छ ।
(ग) बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाले बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने गरी खाता खोली उपभोक्ता समितिको नाममा बुझि लिएको रकम जम्मा गरी खर्च गरेको, बलेफी तेम्बाथान सडक विस्तारका लागि जुगल गाउँपालिकाबाट विनियोजित रकमबाट मानिस÷लेबर लगाई काम गराउने गरी तयार भएको लागत अनुमान अनुसार गाउँपालिकासँग गरेको सम्झौता विपरीत डोजर जे.सी.बी. मेसिनको प्रयोग गरी काम सम्पन्न गरेको तर उक्त डोजर जे.सी.बी. मेसिनबाट गरेको कामलाई मानिस÷लेबरबाट गरेको भनी गैरकानुनी लाभ प्राप्त गर्ने बदनियतले झुट्टा डोरहाजिर, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तथा कार्य सम्पन्न माइन्यूटसमेतका प्राविधिक कागजात तयार गरी मानिसद्वारा कार्य गर्ने भनी इष्टिमेट बमोजिम कार्य सम्पन्नको माइन्यूटमा दस्तखत गरी÷गर्न लगाई उक्त कागजातहरु प्रमाणित गरी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गरी रु.३६,४९,८९९ । ६३ बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेकोले निज देवेन्द्र शाक्य र अनुषा लामाउपर रु.३६,४९,८९९ । ६३ (छत्तीस लाख उन्पचास हजार आठ सय उनान्सय रुपैया त्रिसट्ठी पैसा) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद वा जरिवाना गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ ।
प्रवक्ता श्याम प्रसाद भण्डारी
