
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने घोषणा गर्नु भएको छ ।
शुक्रवार काठमाडौंमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताउनुभयो । नागरिक आयोग गठन गरी वि.सं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘बालेनले काठमाण्डौको अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिमाथि डोजर चलाउने इच्छा छ । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’
अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । उहाँले आफू संसदमा एक्लो भएकाले आउँदो चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गर्नुभयो । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन आग्रह गर्नु भयो । अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बरबाद गर्नु हो भन्दै टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस र कम्युनिष्त मतदातालाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेको दाबी गर्दै व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो । ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उहाँको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी केन्द्रलाई पेण्डुलम पार्टीको संज्ञा दिएका छन् । उनले माओवादी अबको केही वर्षभित्र सिद्दिने पनि टिप्पणी गरेका छन् । चुनावी आमसभालाई सम्बोधन गर्दै काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता मिश्रले यस्तो बताएका हुन् । उनले अबको केही वर्षभित्रै माओवादीलगायतका साना दल मासिने दाबी गरे । र, राप्रपा, कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने उनको दाबी छ । उनले माओवादी भने आँफै सिद्दिने वा अरु दलमा विलय भएर सिद्दिने घोषणा गरे । पछिल्लो समय मिश्र माओवादीप्रति निकै अनुदार बनेका छन् । उनले कांग्रेस र एमालेलाई पनि बाँकी राखेनन् । उनले दुवै दल प्रचण्डीकरण भइसकेको र दुवै पार्टी प्रचण्डपथमा हिँडेको आरोप लगाए ।
यसरी उम्मेदवारहरुले बोल्ने क्रममा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले आफ्नो उम्मेदवारी राष्ट्र, राष्ट्रियता र युवाहरुका लागि भएको बताएकी छिन् । कार्यक्रममा उनले यो उम्मेदवारी हाम्रो नभएर तपाईंहरुको भन्दै मतदातालाई हौस्याएकी थिइन् ।
पोख्रेलले सभामा बोल्दै पुराना दलका नेताहरु पटक–पटक चुनाव जितेर सत्तामा पुगे ‘आखिरीमा उनीहरुले भष्टाचार गरेर देश बेचेरै छाडे, नेपाल आमालाई रुवाएरै छाडे ।’ सभामा उनले ठाकुवा गर्दै भनिन्, ‘ती भ्रष्ट नेताहरुले पटक–पटक झुक्याएर देश र जनता लुट्दापनि अभैm उनीहरुलाई भोट दिनुहुन्छ भने तपाईंहरु नै हो यो देश बेच्ने ।’
“एमालेका साथीहरु छातीमा हात राखेर भन्नुहोस् मलाई खासै कुरा काट्न मन थिएन तर भन्न वाध्य भएँ, यहीं देशमा हिजो एमालेमाा माओवादी छिरेर एमाले सिध्यायो, अहिले फेरि कांग्रेसमा छिरेको छ अब कांग्रेस पनि सिध्याएर निस्कन्छ । त्यो कुरा कांग्रेसका साथीहरुले याद गर्न जरुरी छ,’ पोख्रेलको सुझाव छ ।
उनले थपिन्, ‘मैले अन्य पार्टीहरुको कुरा काटेकी थिइँन तर आज वाध्य भएकी छु किन भने यी पुराना दलका नेताहरुले यो देश बच्दैछन्, देश बेचिनबाट जोगाउनका लागि पनि म बोल्न वाध्य भएकी हुँ । काठमाडौं क्षेत्र नं. २ मा पटक–पटक खाली बाहिरबाट ‘टुरिष्ट’ नेताले उम्मेदवारी दिन्छन्, चुनावपछि जनताको पिरमर्का बुझन् पर्केर आउँदैनन । ती आयातित नेताहरुका कारण यस क्षेत्रका अधिकांश ठाउँहरु अझै पनि रोल्पा, रुकुमको दूर्दशामा रहेको रहेको बताएकी छिन् ।
कार्यक्रममा उनले दुई छाक टार्नकै लागि अब युवाहरुले विदेशिनु नपरोस् भन्नका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् । उनी अगाडि भन्छिन्, ‘म आफै उद्यमी, व्यवसायी र समाजसेवी भएकाले पनि जनमाझ धेरै समस्या देखेर त्यसको निवारणका मैले उम्मेदवारी दिएकी हुँ ।’ पछिल्लो समय धर्ममा धेरै विकृति आएकाको बताउँदै त्यो विकृति हटाउन महाभारतमा कुन्तीको जस्तो रोल खेल्न आफू राजनीतिमा आएको उनले बताइन् ।
चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा सहभागी हुनु भएको छ । बलिउडमा चर्चा कमाउनु भएकी अभिनेत्री कोइराला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको साथमा कार्यक्रममा सहभागी हुनु भएको छ । नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।
मनिषाले भाषणको क्रममा लिङ्देनले गाउँमा नेता आउँदा चोर भन्छन् भनेर गरेको भाषण असाध्यै मन परेको सुनाइन् । ‘चोर भनेको कस्तो हो त भन्दा हामीलाई वचन दिने, हामीलाई आशा दिने, सपना देखाउने अनि त्यसकै चोरी गर्ने, होइन त रु उहाँले भन्नुभएको छ भ्रष्टाचार ग¥यो भने आमाको रगत खानेजस्तो हुन्छ । त्यसैले म उहाँको साथमा उभिएको छु,’ लिङ्देनको प्रशंसा गर्दै मनिषाले भनिन्, ‘मैले प्रमिस पनि लिने छु, जुन वचन उहाँले दिनुभएको छ, त्यसमा अटल रहनुहुन्छ ।’ राप्रपाको चुनावी घोषणपत्रका सबै बुँदा मन परेको उनले बताइन् ।