
उदयपुर । पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रूपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।
जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।
जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो । उहाँले यसपटक मात्रै रू पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताउनुभयो । “किसानहरूले रू ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ”, उहाँले भन्नुभयो ।
बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताउनुभयो ।
गत वर्षमात्र बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा रू ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताउनुभयो ।
नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रूपमा अघि बढाएको बताउनुभयो । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रूपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उहाँले जानकारी दिनुयो ।