बुटवल । देशभर नै प्रायः सत्तारुढ पाँच दलीय गठबन्धनको चर्चा चलि रहेका बेला नवलपरासीको बर्दघाट नगरपालिकामा भने नेकपा (एमाले) र राट्रिय जनमुक्ति पार्टीबीच तालमेल गरेर स्थानीय निर्वाचनमा उत्रिने भएका छन् ।
बर्दघाटमा तालमेल भएपनि केन्द्रीय स्तरमै गठबन्धन गरेर जाने सम्भावना नरहेको ती दलका नेताहरुको भनाइ छ । नेकपा(एमाले) हराउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता सामाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने निर्णय भएको छ । जबकि एमालेको चुनावी सारथी संरक्षक एमएस थापा मगरको नेतृत्वमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी नेकपा(एमाले)को चुनाव चिह्न सूर्य लिएर चुनाव लड्ने सहमति भएको छ ।
आगामी स्थानीय तहको चुनावलाई ध्रुविकरण गर्न खोजे पनि राष्ट्रिय जनमुक्ति पार्टी भने केन्द्रीयस्तरमा गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । ‘हाम्रो लागि गठबन्धन दोस्रो प्राथमिकता हो । केन्द्रले गर्दैन स्थानीय तहमा कुनै कुनै ठाउँमा सहमति हुनसक्छ । त्यो अधिकार पार्टी केन्द्रले स्थानीय तहलाई दिएका छन्,’ जनमुक्तिका नगर अध्यक्ष प्रवक्ता शेर बहादुर थापा मगरले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भोट दिँदा पनि कुनै उपाय नलागेपछि ती दलहरु छाडेर कतिपय नेता, कार्यकर्ता र मतदाता राष्ट्रिय जनमुक्ति पार्टीमा आउनु भएको छ । फेरि पुरानो पार्टीको चुनाव चिह्नमा मत हाल्न लगाउने हो भने त्यसको के अर्थ होला र ?’
राष्ट्रिय जनमुक्ति पार्टी र अन्य दल सँग केन्द्रीयस्तरमा गठबन्धनका लागि केही बाध्यता र फरक प्राथमिकताको कारण देशभरको गठबन्धनमा अनिच्छा देखिएको छ । पाँच दलीय गठबन्धनले बाहिरका दलहरुसँग गठबन्धन नगर्ने निर्णय गरेका छन् । नेकपा (एमाले) बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र बिक्रम हमाल र राष्ट्रिय जनमुक्ति पार्टी संयोजक शेर बहादुर थापा मगरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय जनमुक्ति पार्टीलाई नगरउपप्रमुख र २ नं. वडा दिइने सहमति भएको जनाएको छ ।
१६ वटा वडा रहेको यस नगरपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार धिरज शर्मा(बस्याल)ले १२,८१४ मत ल्याइ विजयी हुनु भएको थियो । नेकपा(एमाले)ले ९, नेपाली कांग्रेस ६ र नेकपा(माओवादी केन्द्र) १ वटा वडा जितेका थिए ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर