काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले हुम्लाको सर्केगाड गाउँपालिका –३ का वडाध्यक्ष गजबहादुर रावत र तत्काली प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले चार जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारले आठ लाख रुपियाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले वडाध्यक्ष रावत‚ गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी‚ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डे र गाउँपालिकाका लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
आरोपितहरूले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भर्पाई तयार गरेको‚ विभिन्न व्यक्तिहरूले रकम बुझेको भर्पाई बनाई प्राप्त बिल भर्पाईको सत्यतथ्य जाँच नगरी भुक्तानीका लागि सिफारिस गरेको जनाएको छ । गैरकानुनी लाभ वा हानी पु¥याउने बदनियतले कागजात तयारी गरी ८ लाख हिनामिना गरेको अख्तियारद्वारा दायर आरोपपत्रमा उल्लेख गरिएको छ । चारै जनालाई भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा ८ लाख रुपियाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भए बमोजिमको अधिकतम कैदको माग गरिएको आयोगले जनाएको छ ।
प्रेस विज्ञप्तिः– मिति २०७८।१२।१० गते ।
––––––––––––––––––––––––––––
जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुम्ला, सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरत बहादुर रेश्मीसमेतले आफू वा अन्य व्यक्तिलाई लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुको साथै भुक्तानीसमेत गरी नेपाल सरकारलाई गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई रु.८,००,०००।– हिनामिना गरेको हुँदा सो कार्यमा संलग्न वडाध्यक्ष गज बहादुर रावत, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत वहादुर रेश्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा रु.८,००,०००।– (आठ लाख रुपैयाँ) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैद तथा खुल्न आएको विगो प्रतिवादीहरूबाट असुलउपर गरी बिगोबमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता, श्याम प्रसाद भण्डारी

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर