काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले उनलाई ३ वर्षका लागि नियुक्त गरेको हो ।
पूर्वऊर्जा मन्त्री जनार्दन शर्माको कार्यकाल अर्थात् २०७४ सालको शेरबहादुर देउवा सरकारका पालामा थानी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए । उनले करिब २ वर्ष सञ्चालकको जिम्मेवारी सम्हालेर २०७६ कात्तिक ३ गते व्यक्तिगत कारण देखाई तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष राजीनामा दिएका थिए ।
प्राधिकरणका जटिल विषयमा निर्णय गर्नुपर्दा मन्त्री पुनले समेत थानीसँग आवश्यक सल्लाह तथा परामर्श लिने गरेको एक पूर्वसञ्चालक स्मरण गर्छन् । त्यतिबेला, नेकपा समर्थित सञ्चालकहरू रहेको प्राधिकरणमा थानीले एक्लै प्रतिपक्षको भूमिका समेत निर्वाह गरेका थिए ।


ट्रंक लाइन महसुल प्रकरण होस् वा चमेलिया जलविद्युत आयोजनाको भेरियसनका विषयमा उनी खरो रूपमा सञ्चालक समितिमा प्रस्तुत हुने गर्थे । मन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुमा ट्रंक लाइन महसुल मिनाहा दिने निर्णय गर्दा थानीकै पहलमा महसुल उठाउने निर्णय भएको प्राधिकरण अधिकारी बताउँछन् । तर, त्यो महसुल घिसिङ दोस्रो पटक कार्यकारी निर्देशक भएर आउँदासम्म उठेको छैन ।
फरक–फरक राजनीतिक पार्टीप्रति झुकाव राख्ने भए पनि सञ्चालकहरू थानी, भक्तबहादुर पुन, चेतराज जोशी, विश्वप्रकाश गौतमको एउटै मत हुन्थ्यो । जोशी भने कार्यकाल पूरा गरी अहिले जिम्मेवारीबाट बाहिरिइसकेका छन् । प्राधिकरणमा थानीले प्रतिपक्षको भूमिका निर्वाह गरेकै कारण कतिपय विवादित विषयमा निर्णय लिन सञ्चालक समितिलाई सजिलो भएको त्यतिबेलाका सञ्चालकहरू स्वीकार्छन् ।
नेपाली काँग्रेसमा सभापति देउवा निकट मानिने थानीले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए । उनी त्यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थिए । थानी हाल काँग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यस्तै, एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिएका थानी सार्वजनिक संस्थानको नेतृत्व हाँक्ने सक्षम व्यक्तिको रूपमा पनि चिनिन्छन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर