काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपालमा सदियौंदेखि जरा गाडेर रहेको विभेदकारी नीति परिवर्तन भई थुप्रै कानुन पनि संशोधन भइसक्दा समेत त्यसको सहीरुपले कार्यान्वयन हुन नसक्दा भएको अधिकार प्राप्त हुन नसकेको उहाँको भनाइ छ । मिडियाले त्यसको निरन्तर खवरदारी गर्नुपर्ने उहाँले बताउनुभयो । फोनिजजस्ता संस्थाले त्यसमा नेतृत्वदायी भूमिका खेल्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


देशको आर्थिक समृद्धि कायम गर्ने उपयुक्त माध्यम पर्यटन क्षेत्र रहेको र आदिबासी जनजातिका संस्कार, संस्कृति र अमूत संस्कृतिको प्रचार प्रसार गर्न सके देशमा आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि हुने उहाँले बताउनुभयो । पर्यटकीय हिसावले नेपाललाई भरपर्दो गन्तव्य बनाउन आवश्यक रहेको र त्यसको प्रवद्र्धनले मात्र देशले आर्थिक रुपले काँचुली फेर्न सक्ने उहाँले चर्चा गर्नुभयो ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिबासीले उठाउँदै आएको माग मुद्दा अझै सोचेजस्तो सम्बोधन नभएकाले निरन्तर खवरदारीको खाँचो रहेको बताउनुभयो । आदिबासीको माग र अधिकारका विषयमा फोनिजसँग हातेमालो गरी प्रतिष्ठान अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । माग मुद्दा सम्बोधन गराउन मिडियाको दवाव महत्वपूर्ण रहेकाले पत्रकारलाई त्यसमा भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले आदिबासीको माग सम्बोधन गराउन आदिबासी मन्त्रालयको आवश्यकता भएकाले त्यसको लविङमा आफूहरु लागिपरेको बताउनुभयो । आदिबासीको नामको आरक्षणमा अवसर नेताका श्रीमतीहरुले लिनेगरेको टिप्पणी गर्नुहुँदै अध्यक्ष शेर्पाले त्यसो नगर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । आदिबासीका लागि छुट्याइएका आरक्षण कोटामा नेताका श्रीमतीले अवसर लिनु जनजातिप्रतिको गद्दारी भएको उहाँको भनाइ छ ।
फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार गोपाल देवान, अनिता गुरुङ, राजु चौधरी, अप्सरा समाल र वान्तावा राई भाषाका पत्रिका ‘बुङ्वाखा’ मासिकलाई नगद २० हजारसहित सम्मान गरेको थियो ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर