२०७८ भदौं २२ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भवन निर्माणका क्रममा लोकवीर बेताली/पाँचकुमारी जेभीका लगानीकर्ता अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलेमतोमा रु ४२ लाख बराबरको नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी तयार पार्ने काममा नेपाल बैंक मङ्लगवा शाखा सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाहको संलग्नता देखिएको पाइएको छ । आयोगले रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचारजन्य कसुर रहेको ठहरसहित बिगोबमोजिमको सजाय कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै गलत तरिकाले ग्यारेन्टी पेपर तयार गर्न लगाउने निर्माण व्यवसायीद्वय गुप्ता र पासवानविरुद्ध पनि बिगोअनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको प्रेस विज्ञप्ति
सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाई रु.४२,००,०००।– भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले र सो सम्बन्धमा देहायका उल्लेखित ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेको देखिंदा निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
(क) नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा रु. ४२,००,०००।– लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले निज सन्तोष बिक्रम शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरजन्य कार्य भएकोले निजलाई बिगो रु. रु. ४२,००,०००।– (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुल हुन मागदाबी लिइएको छ ।
(ख) लोकबीर बेताली/पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानले नेपाल बैंक लिमिटेड मलंगवा, सर्लाही शाखाका तत्कालीन सहायक सन्तोष विक्रम शाहसँगको मिलोमतोमा रु. ४२,००,०००।– को नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गर्न लगाई उक्त रकम भुक्तानीसमेत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु. ४२,००,०००।– (अक्षरुपी बयालीस लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय हुन र उक्त बिगो जफत समेत हुन मागदाबी लिइएको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
