काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरस्तरीय घरदैलो अभियान सुरु भएको छ ।
निर्वाचन आचारसंहिताको पालना गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवारले मत माग्ने कार्य गरिरहेका छन् । आ–आफ्नो योजनाका साथ उम्मेदवार चुनावी घरदैलो अभियान रहेका छन् ।
यस नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर बोहरा, नेपाली कांग्रेसका हरिकृष्ण महर्जन, नेकपा (एकीकृत समाजवादी) का लवकुमार बस्नेत नगर प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसैगरी, जनता समाजवादी पार्टीका बाबुराम लामा, विवेकशील साझा पार्टीका महेशविक्रम कुँवर, नेपाल मजदुर किसान पार्टीका कुमार महर्जनसहित उम्मेदवार चुनावी मैदानमा छन् । नगरमा केही स्वतन्त्र उम्मेदवार छन् ।
उपप्रमुख पदमा एमालेका भवानी डोटेल धिताल, कांग्रेसका सिर्जना बुर्लाकोटी अर्याल, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सीमा राजवहाक, नेपाल मजदुर किसान पार्टीका इन्द्रकुमार बज्राचार्य उपप्रमुख पदमा उम्मेदवार हुनुभएको छ । यस नगरपालिकामा नेकपा समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेदवार धनलाल महर्जनले कार्यालय व्यवस्थापन, पार्टी प्रवेश र मत माग्नेलगायतको कार्यक्रम भइरहेको बताउनुभयो । चुनावी तालमेलबाट आफ्नो समूहको विजय सुनिश्चित भएको दाबी महर्जनको छ । दुई दलले कतिपय वडामा चुनावी तालमेल पनि गरेका छन् । घरदैलो अभियान ठूलो वडामा दुई दिन र सानो वडामा एक दिनमै सक्ने तयारी गरिएको पनि महर्जनले जानकारी दिनुभयो ।
कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जनका अनुसार, घर घरमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रम जारी रहेको बताउनुभयो । यस नगरमा ११ वटा वडा रहेकाले क्रमशः कार्यक्रम अगाडि बढेको जानकारी दिनुभयो । जनताको विश्वास बढेकाले चुनाव जित्ने दाबी उहाँले गर्नुभयो ।
कांग्रेसबाटै उपप्रमुख पदका उम्मेदवार रहनुभएकी सिर्जना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनासहित अगाडि बढेको सुनाउनुुभयो। यस नगरमा पानीको समस्या रहेकाले त्यसलाई मुख्य मुद्दा बनाइएको छ भन्दै उहाँले नगरवासीले खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात राम्रो बनाउन सल्लाह सुझाव दिएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रामेश्वर बोहराले पनि अन्य पार्टीजस्तै गरी घरदैलौ अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो अभियान सुरु गरेका छौँ । आजबाट कार्यकर्ताले जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।’’ तारकेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा एमालेले एउटा वडा अध्यक्षबाहेक सबैमा विजयी हासिल गरेको थियो। कांग्रेसले एउटा वडामा अध्यक्ष जितेको थियो ।
