काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले २०७९ साल जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । ‘जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ,’ नेता श्रेष्ठले भने, ‘त्यसका लागि संविधान र ऐनमा आवश्यक संशोधन गर्ने र निर्वाचनको तयारी अघि बढाउने सहमति भएको छ ।’
निर्वाचन आयोगले यसअघि वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर