ओखलढुंगा÷ चम्पादेवी गाउँपालिका पलापु भञ्ज्याङ्मामा डेढ लाख रुपैयाँको पुरस्कार राशिको भलिबल प्रतियोगिता तथा विभिन्न ऐतिहासिक परम्परागत खेलहहरुको आयोजना गरिने भएको छ । बिजय दशमी तथा शुभ दिपावलीको अवसर पारेर “राष्ट्रिय, लोकतन्त्र, समाजवाद तरुण एकताप्रति
समर्पित“ नेपाल तरुण दल चम्पादेवी गाउँपालिका कार्यसमिति ओखलढुंगाद्वारा आयोजना गरिने उक्त कार्यक्रम आउँदो असोज २८, २९ गतेदेखि टिमदर्ता गरि असोज ३१ गतेदेखि औपचारिक हिसाबले संचालन हुने भएको छ । उक्त कार्यक्रममा भलिबल, घ्याम्पो फोड, झिकुरि तान्ने,बास चडेर भाले निकाल्ने जस्ता लोपोन्मुख ऐतिहासिक स्थानीय परम्परागत खेल प्रतियोगिता तथा स्थानीय लोपोन्मुख ढ्यासि नाच प्रदर्शन संगै राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति हुने आयोजकले बताए । आयोजक संघले शनिबार सूचना जारी गरी प्रतियोगिताबारे जानकारी दिएको छ । ‘प्रतियोगिताको तयारी धमाधम भइरहेको छ’ तरुण दलका अध्यक्ष गगन श्रेष्ठले भने, ‘आयोजनाका लागि आर्थिक देखि भौतिक ब्यवस्थापनका सम्पूर्ण कामहरु भइरहेका छन् । ’भलिबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्न पनि निकै चुनौती रहेको उनले बताए ।

‘फुटबल, क्रिकेटजस्ता प्रतियोगिताबारे सबैलाई चासो छ, राष्ट्रिय खेलको रुपमा मान्यता प्राप्त भलिबललाई पनि ग्रामीण भेगदेखि शहरी क्षेत्र सम्म प्रचारप्रसार गर्दै खेल आयोजना हुन जरुरी छ । अध्यक्ष श्रेष्ठले भने, भलिबल खेलको विकासमा अलि सुस्त छ यस खेललाई स्थानीय तह देखि केन्द्र सम्मको हरेक निकायले चासो गर्न जरुरी भएकाले हामी पनि प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध छौं साथै बडा दशैं तथा शुभदिपावलीको अवसर पारेर संचालन हुन गइरहेको यस कार्यक्रमलाई सभ्य,भब्य रुपमा सफल बनाउन सबैको साथ सहयोग रहने अपेक्षा समेत रहेको बताए ।
