कोन्ज्योसोम गाउँपालिका बागमति प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित छ । नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारले स्थानीय निकायहरूले पुन संरचनाको लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुस २२ गते बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी वि.सं.२०७३ फागुन २७ गते देखि स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस गाउँपालिका घोषणा गर्दा ललितपुर जिल्लाको साविक चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ गाउँ विकास समितिलाई एकै स्थानमा गाभिएको थियो । यस गाउँपालिकामा ५ वटा वडाहरू रहेका छन् । गाउँपालिकाको कार्यालय वडा नं. १ चौघरेमा रहेको छ ।
भौगोलिक अवस्थिति


यस कोन्ज्योसोम गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले विश्व मानचित्रमा ८५ डिग्रि १८ मि.२७ से.देखि ८५ डिग्रि २४ मि.२३ से. पूर्वी देशान्तरसम्म र २७ डिग्रि २८ मि.३६ से.देखि २७ डिग्रि ३३ मि.४९ से. उत्तरी अक्षांशमा अवस्थित यस कोन्ज्योसो गाउँपालिकाको कूल क्षेत्रफल ४४.१६ बर्ग कि.मि. छ । गाउँपालिकाको उचाई समुन्दै सतहबाट १०५३ मिटरदेखि २६१९ मिटरसम्म छ । यहाँको औषत अधिकतम तापक्रम २६.४ डिग्नि र औषत न्यूनतम तापक्रम २.३ डिग्रि रहेको पाईन्छ । यस गाउँपालिकाको १२ महिनाको औषत तापक्रम १४.८ डिग्रि सेल्सियस र बार्षिक औषत वर्षा १६९७ मि.मि. रहेको छ । यस गाउँपालिका राजधानीदेखि २७ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ भने प्रदेश राजधानी हेटौडाबाट १०१ किलोमिटरको दुरीमा रहेको छ । यस गाउँपालिकाको उत्तरमा गोदावरी नगरपालिका, पश्चिममा गोदावरी नगरपालिका र बागमति गाउँपालिका, दक्षिणमा बागमति र महाँकाल गाउँपालिका र पूर्वमा महाँकाल गाउँपालिका र काभ्रेपलान्चोक जिल्ला रहेका छन् । क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो वडामा वडा नं. २ रहेको छ जसले ३२.४३ प्रतिशत भुभाग ओगटेको छ भने सबैभन्दा सानो वडा नं. ३ ले १४.१५ प्रतिशत भुभाग ओगटेको छ । वडा अनुसार गाउँपालिकाको क्षेत्रफल यस अनुसार रहेको छः
वडा नं. १ को क्षेत्रफल (बर्ग कि.मि) ७.७४– १७.५३ प्रतिशत
वडा नं. २ को क्षेत्रफल १४.३२– प्रतिशत ३२.४३
वडा नं. ३ को क्षेत्रफल ६.२५ –प्रतिशत १४.१५
वडा नं. ४ को क्षेत्रफल ८.०२– प्रतिशत १८.१६
वडा नं. ५ को क्षेत्रफल ७.८३ –प्रतिशत १७.७३
जम्मा ४४.१६ क्षेत्रफल– प्रतिशत १००.००


ऐतिहासिक चिनारी तथा नामाकरण
नयाँ संरचना अनुसार नयाँ नाम राखिएको गाउँपालिकाको आफनो छुट्टै विशेषता रहेको छ । तत्कालिन ५ वटा गाउँ विकास समितिहरुको भौगोलिक क्षेत्रलाई समेटी बनेको यस गाउँपालिकाको न अनुसार पहिचानको नाममा राखिएको छ । ७५ प्रतिशतभन्दा बढी तामाङ्ग जातिको बसोवास रहेको यस गाउँपालिका देशको राजधानी काठमाण्डौंबाट नजिक रहेको गाउँपालिका हो । भौगोलिक सुन्दरता, धार्मिक विविधता र सांस्कृतिक एकता रहेको यस गाउँपालिकाको नाम तामाङ भाषामा कोन्ज्योको अर्थ रत्न र सोमको अर्थ तीन हो । कोन्ज्योसोमलाई विरत्न भन्न सकिन्छ । कोन्ज्योसोमको अर्थ बुद्धका त्रिरत्न हो जसमा बुद्धरत्न, धर्मरत्न र सङ्गरत्न पर्दछन् । बुद्धरत्नले भगवान गौतम बुद्धको वाणी, धर्मरत्नले स्वयं भगवान धर्मका गुरु र संघरत्नले भगवान बुद्धको उपदेशलाई विश्वभरी फैलाउने कार्यलाई बुझिन्छ साथै कोन्ज्योसोम शब्दले हिन्दु धर्मका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर (सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता) लाई पनि बुझाउने गर्दछ भन्ने धार्मिक विश्वास रहेको छ ।
गाउँपालिकाका धार्मिक, प्राकृतिक तथा पर्यटकीय महत्वपूर्ण स्थलहरू
प्राकतिक रुपमा हरियाली डाँडाकाडाँ र विभिन्न धार्मिक, प्राकृतिक र पर्यटकीय स्थलहरु रहेको यस गाउँपालिकालाई एक पर्यटकीय गाउँपालिकाको रुपमा अगाडी बढाउन सकिने सम्भावना भएको गाउँपालिकाको हो । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषी, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा सुपरिचित छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले यस व्यवसायको विविधीकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भईरहेको सन्दर्भमा यस गाउँपालिकामा रहेका विभिन्न धार्मिक र प्राकृतिक स्थलहरुलाई पर्यटकीय स्थलको रुपमा विकास कार्य अगाडी बढिरहेको छ । राजधानीबाट नजिकै रहेको यस गाउँपालिकामा अवस्थित प्राकृतिक डा‘डाहरु दृश्यावलोकनका उपयुक्त स्थानहरु रहेका छन् । सवैजसो वडाहरुमा रहेका विभिन्न डाँडाहरुबाट दृश्यावलोकन गर्न सकिन्छ ।
आधार यसमा पनि नल्लु डाँडा, दलचोकी स्थित धनापति डाँडा मूख्य रहेका छन् । यसैगरी भालुखोला झरना र तुप्चे झरना पनि अर्को पर्यटकीय स्थलको रुपमा रहेका छन् । यस गाउँपालिकामा धार्मिक स्थलको रुपमा विभिन्न गुम्बा, मठ मन्दिर र चर्चहरु रहेका छन् । संख्यात्मक हिसावमा गुम्बा, मठ मन्दिर र चर्चहरुको संख्या गाउँपालिकाभरीमा ४२ वटा रहेका छन्। पर्यटकीय तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने गुप्तेश्वर गुफा यस कोन्ज्योसोम गाउँपालिकाको वडा नं. ५ मा रहेको छ, जसले आन्तरिक बाहिरी पर्यटकलाई आकर्षण गरेको देखिन्छ । यस स्थानमा वैशाख पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ । वैशाख पूर्णिमाका अघिल्लो दिन यस गुफामा बौद्ध धर्मावलम्बीहरूले पुजाआजा गरी भोलिपल्ट पूर्णिमाका दिन फेदीमा गुम्बा गई पुजा गर्ने प्रचलन रहेको छ । कुन्यकाली मन्दिर, कालेश्वरी मन्दिर, बालकुमारी मन्दिर आदि यहाँका प्रसिद्ध मन्दिरहरू हुन् । वडा नं. ५ भारदेउमा अवस्थित कुन्यकाली मन्दिर देवीको मन्दिर हो । जहाँ तामाङ जातीले पूजाआजा गर्ने गर्दछन् भने बडा नं. ५ कै भालुखोलामा कालेश्वरी मन्दिर रहेको छ । यस मन्दिरमा माघ १ गते मेला लाग्ने गर्दछ । यसका अतिरिक्त स–साना मन्दिर, गुम्बा, टुशाल, चैत्य, चर्च आदि यहाँका विभिन्न धार्मिक आस्था र मान्यता राख्नेहरूका लागि पवित्र र दर्शन गर्ने स्थानहरू हुन् जस्ले यस गाउँपालिकको विविधता प्रस्तुत गरेका छन । यस गाउँपालिकामा स्वच्छ हावापानी लगायत मनोरम दृष्य भएका धार्मिक स्थलहरू, मन्दिर तथा ठाउँ ठाउँमा स–साना गुफा रहेका कारण पर्यटकका लागि सम्भावना बोकेको क्षेत्रको रूपमा लिन सकिन्छ । यस गाउँपालिका रहेका प्राकृतिक सौन्दर्यतालाई हेर्दा पर्यटकहरुलाई दृष्यावलोकन, पैदल तथा साईकल यात्रा, कृषि पर्यटक, बनभोज र वनस्पति अवलोकन लगायत ध्यान तथा आत्मशान्तिका लागि पर्यटकीय स्थलहरूलाई व्यवसायिक रूपमा लैजाने हो भने यहाँ रोजगारीका अवसरहरू पनि सिर्जना हुने सम्भावना देखिन्छ ।
राजनीतिक अवस्थिति
कोन्ज्योसोम गाउँपालिका वागमति प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित रहेको छ । साविकका ५ वटा स्थानीय निकायहरु (चौघरे, शंख, दलचोकी, नल्लु र भारदेउ) समावेश गरी बनेको यस गाउँपालिकामा ५ वडाहरु रहेका छन् । यस प्रदेशमा विद्यमान ३ बटा महानगर पालिका,एउटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका र ७४ वटा गाउँपालिकाहरु मध्ये कोन्ज्योसोम गाउँपालिका एक हो । यसैगरी ललितपुर जिल्लामा कूल ६ वटा स्थानीय तहहरु रहेका छन् जसमा एउटा महानगरपालिका, २ वटा नगरपालिका र ३ वटा गाउँपालिका मध्ये कोन्ज्योसोम गाउँपालिका एक हो । गाउँपालिकाको कार्यालय बडा नं. १ चौघरेमा रहेको छ ।
मातृभाषाको आधार
यस गाउँपालिकामा मातृभाषाको रुपमा तामाङ र नेपाली भाषा रहेका छन् । तामाङ समुदायका व्यक्तिहरुले आफ्नो मातृभाषामा नै संवाद गरेको पाइन्छ भने अन्य जनजातिहरुले आफ्नो भाषाको प्रयोग गरेको पाइदैन ।
आफ्नो मातृभाषा नेपाली नभए पनि उहाँका सबैजसो व्यक्तिले नेपाली भाषामा संवाद गर्न सक्ने रहेकाले यस गाउँपालिकाको सम्पर्क भाषा नेपाली रहेको छ ।
स्रोत –कोन्ज्योसोम गाउँपालिका

By jhorle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share
झोर्ले खबर