नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत काभ्रे जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ ।
शनिबार सम्पन्न भएको स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्दीलाई एक मतले पराजित गर्नुभएको हो । शनिबारै निर्वाचन सम्पन्न धुलिखेलमा विदुर बस्नेत नगर सभापतिमा अत्यधिक मतले विजयी हुनुभएको छ । पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
मण्डन देउपुर नगर सभापतिमा कश्यप पौडेल र नमोबुद्धमा कुन्साङ लामा सभापतिमा निर्वाचित हुनुभएको छ । यस्तै तेमालमा ज्ञानबहादुर लामा, रोशीमा दुधराज लामा, भुम्लुमा दावा लामा र चौँरीदेउराली गाउँपालिका सभापतिमा शेरबहादुर लामा निर्वाचित हुनुभएको छ ।
यसैगरी बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्मा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । गाउँ/नगर अधिवेशनमा सभापति पदमा भने दोब्बर बढीको उम्मेदवारी परेको थियो । स्थगन भएको महाभारतको निर्वाचन आजै गर्ने विषयमा छलफल भइरहेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो ।
सात तहको निर्विरोध र पाँच तहमा मतदान भएको हो । निर्वाचनले कांगे्रसको गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवलगायत कार्यसमिति चयन गरेको हो । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुने प्रावधान छ भने वडागत सदस्य सङ्ख्याका अनुपातमा कार्यसमिति सदस्य चयन भएको उहाँले बताउनुभयो । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् ।
