काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यका(तीन जिल्ला)मा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।
उनका अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् । सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ र सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८÷२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६÷२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्चिममा २१÷२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
