बुटवल । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले बैशाख ३० गते हुने निर्वाचनमा तालमेलको घोषणा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीयसंगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले १ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष, २५ वडाध्यक्षसहित १४२ वटा पद हासिल गर्न सफल भएको थियो । नेपाली कांग्रेसले ४ पालिका प्रमुख, २ उपप्रमुख,२५ वडाअध्यक्षसहित १३१ वटा पद जित्न सफल भएको थियो भने नेकपा(माओवादी केन्द्रले १ नगर प्रमुख, २ उपप्रमुख, ७ वडाध्यक्षसहित ३२ वटा पद जित्न सफल भएको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चाले ४ वडाध्यक्षसहित २७ पदमा जित्न सफल भएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।
एमालेले अन्य दललाई मानमर्दन गरेर दम्भ र अहंकार प्रदर्शन गरेकाले सत्ता गठबन्धनलाई चुनावसम्म कायम गर्नुपरेको श्रेष्ठले बताए । माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले फेरि पनि एमालेले प्रतिगामी कदम चाल्ने खतरा रहेकाले त्यसलाई रोक्न गठबन्धन कायम राख्ने निर्णय भएको बताए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिन्दक खड्का र राष्ट्रिय जनमोर्चाका शेरबहादुर बीसीले गठबन्धन गरेर चुनावमा जाँदा सबै दलको समानुपातिक प्रतिनिधित्व हुने बताए ।
